झापाको विकास र समृद्धिमा योगदान र्पुयाउने उद्देश्यसहित ‘पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने भएको छ । झापाका १०० भन्दा बढी सामाजिक संघसंस्थाहरुको सामूहिक अभियानका रुपमा अघि बढाइएको यस कार्यक्रमको घोषणा यही पुस १४ गते बिर्तामोडमा एक कार्यक्रम गरी गरिने भएको छ । अभियानका लागि ‘अभियन्ता’का अध्यक्ष प्रकाश गुरुङ, वीरता रिडर्सका संयोजक तीर्थ सिग्देल, रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्य, झापाली साहित्य समाजका अध्यक्ष हरि बराल, मिडिया रिसर्च सेन्टर र इशा बुक्स सेन्टरको संयुक्त पहलमा बिर्तामोडमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । अभियानअन्तर्गत सामाजिक स्तरबाट पठन संस्कृति वर्ष घोषणा गर्दै यसलाई सरकारी कार्यक्रमका रूपमा अघि बढाउन सरकारलाई ज्ञापनपत्रमार्फत आग्रह गरिनेछ । वर्षभरि पठन संस्कृतिका लागि विभिन्न क्षेत्रमा पहल गर्ने कार्यक्रमहरु रहेको सह संयोजक केशव मैनालीले जानकारी दिएका छन् ।कार्यक्रम संयोजक तीर्थ सिग्देलका अनुसार बौद्धिक क्षमता विकास आजको प्राथमिक कुरा हो, अध्ययनलाई संस्कारको रुपमा विकास गर्न सके यो समृद्धिको मूल आधार बन्न सक्छ । कार्यक्रममा रिडर्स अभियान नेपालका अध्यक्ष आचार्यका अनुसार पढ्ने रुचिको विकास गर्नु यो अभियानको मुख्य उद्देश्य रहनेछ । कार्यक्रममा नेपाली लेखक संघ झापाका पूर्व अध्यक्ष कुमार भट्टराईले विद्यालय तहबाटै पुस्तक पढ्ने बानीको विकास गर्न विभिन्न क्रियाकलाप सञ्चालन गर्नु पर्ने राय राखेका छन् । कार्यक्रममा पत्रकार दिपीन राईले पुस्तकबाट समग्र इतिहास र चेतनाको पाइने भएकाले अभियान सफल बनाउन सबैसँग आग्रह गरे । पठन संस्कृति वर्ष घोषणा कार्यक्रममा झापाका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व र विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा गीत, कविता र गजल वाचनका साथै दुई कृतिको विमोचन पनि गरिने भएको छ । तीर्थ सिग्देलको इतिहास विधाको पुस्तक ‘त्यो झापा’ र हेम गुरागाईको उपन्यास ‘दिगो समाधान’को विमोचन सोही दिने गरिने भएको छ । साथै, झापाको इतिहासको विवेचना वरिष्ठ अधिवक्ता तथा लेखक लीला उदासी, समाज विकासमा अभियानको भूमिकाबारे सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी र पठन संस्कृतिले समाजमा पार्ने प्रभावबारेमा लेखक तथा सामाजिक अभियन्ता केदार शर्माको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । झापाबाट सुरु भएको यो अभियानलाई राष्ट्रिय अभियानका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्