२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

सातौं झापा गोल्डकपको प्रायोजन एक्स्ट्रिम इनर्जी ड्रिंग्सले गर्ने

माघ २४ गतेदेखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने सातौं झापा गोल्डकप प्रतियोगिताको एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंग्सले प्रायोजन गर्ने भएको छ ।

यो वर्षको संस्करणलाई एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका रुपमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापालाई फुटबल हबको रुपमा विकसित गराउन हामी २०७२ सालबाट लागिपरेका हो । यो वर्ष झापा गोल्डकपको विजेता र उपविजेताको पुरस्कार राशि वृद्धि गरिएको छ । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताका सार्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो वर्ष दाताबाट प्राप्त भएबमोजिम प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछन् । विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टिमले गरेको हो ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ एफसी मलेसियाको सहभागिता रहनेछ ।

सातौं संस्करणमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिनेछ । यो प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन जिल्लामा अगुवा संस्थाको रुपमा चिनाउन सबै सामाजिक अभियानसँग जोडेर लैजान प्रयत्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain