कृषि बीमा नहुँदा झापाका केराखेती गर्ने किसान मर्कामा परेका छन् । बाढी, डुवान र हावाहुरीबाट केराखेती नष्ट गर्दछ । तर कृषि बीमा नहुँदा ठूलो नोक्सानी व्यहोरेका किसानले राहात पाउँदैनन् । स्थानीय सरकारले समेत बीमाको पहल नगर्दा किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन सकेका छैनन् ।
झापा गाउँपालिका–३ का चन्द्रबहादुर बस्नेतले व्यावसायिक केराखेती गरेको सात वर्ष भयो । उहाँको करिब ३० विघा क्षेत्रफलमा लगाएको केराखेती गत असोज १८ गतेको बाढीले नष्ट ग¥यो । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी बजार पठाउन तयारी अवस्थामा रहेको करिब २१ हजार घरी केरा बाढीले एकै पटक स्वाहा भयो । उहाँ राहातका लागि गाउँपालिका, कृषि ज्ञान केन्द्रलगायत विभिन्न सरकारी निकाय धाउनुभयो । तर उहाँको समस्या, कसैले समाधान गरेनन् । मुख्य समस्या भनेको कृषि बीमा नहुनु हो । सरकारले कृषि बीमा गर्ने वातावरण बनाए किसानले नोक्सानी ब्यहोर्नु पर्ने थिएन । तर, केराखेतीको बीमा गर्न, बीमा कम्पनीहरु तयार हुँदैनन् ।

एकै पठक ठूलो क्षति व्यहोरेका बस्नेत कतैबाट क्षतिपूर्ति र राहात नपाएपनि पुनः केराखेती मै फर्किनुभयो । फेरि पनि गत पुस २८ गतेको हावाहुरीले बजार पठाउने बेला भएको केरा नष्ट भयो । एउटै किसानका करिब तीन महिनाको अन्तरमा ३२ लाखभन्दा बढीको क्षति भयो । तर प्रदेश सरकारले क्षतिपूर्ति दिने त परैको कुरा पीडित किसानलाई प्रोत्साहन गर्ने आवश्कता पनि ठानेनन् ।
भारतबाट वार्षिक १ अर्ब ७२ करोड रुपैयाँको केरा आयत हुने सरकारी तथ्यांक छ । आयत प्रतिस्थापन गर्न पनि केरा स्वदेशमै उत्पादनमा जोड दिन जरुरी छ । सरकारले केराखेतीको बीमा गर्ने व्यवस्था मात्र मिलाए उत्पादन स्वातः बढ्ने मात्र नभइ केही वर्षमै केरामा आत्मनिर्भर हुने वातावरण बन्नेछ ।



प्रतिक्रिया दिनुहोस्