२०८३ बैशाख ६
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

सातौं झापा गोल्डकपको तयारी पूरा

नेपालकै लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौं संस्करण भोलि माघ २४ गतेदेखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालनको पूर्ण तयारीमा पुगेको जानकारी पत्रकार सम्मेलन मार्फत दिइएको छ । झापा ११ फुटबल क्लब घरेलु टिमको रुपमा रहेको यो प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एकथान यामाहाको मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो वर्ष दाताबाट प्राप्त भएबमोजिम प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टिमले गरेको हो । सातौं संस्करणको उद्घाटनका दिन मैदान परिसरमा स्वर्गीय डोमालाल राजवंशीको शालिव अस्थायी रुपमा अनावरण गरिनेछ । झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिनेछ । यो प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain