झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबले एपीएफ र चर्चबोइजको विजेतासंग फाइनलमा भेट पक्का गरेको छ । पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

३२ औँ मिनेटमा आर्मीले अग्रता लियो । पुलिसकी डिफेन्डर समीक्षा घिमिरेको गल्तीको फाइदा उठाउँदै आर्मीकी चन्द्रा भण्डारीले गोल गर्दै खेलमा अग्रता दिलाइन् । ५६ औँ मिनेटमा जेनिफर राना मगरले आर्मीको अग्रता दोब्बर बनाइन् ।

हिमा चौधरीले गरेको कडा प्रहार पुलिसकी गोलकिपर सपना राईको हातबाट फुत्किँदा रानाले पाएको बललाई पोस्टको दिशा दिइन् । पुलिसले खेलको ७० औँ मिनेटमा एक गोल फर्कायो ।

पूजा रानाले डिबक्समा हेडमार्फत मिलाइदिएको पासलाई रेखा पौडेलले हेडमार्फत नै जाली चुमाउँदै गोल अन्तर कम गर्ने प्रयास गरिन् । आक्रमणको प्रयास पुलिसले तिब्र बनाए पनि गोल गर्न नसक्दा हार ब्यहोर्नु पर्यो ।

प्लेयर अफ दि म्याच आर्मीकी डिफेन्डर विमला विक भइन् । उनले नगद ११ हजार रुपैया हात पारिन् ।

भोलीको खेल एपीएफ र चर्च बोइज विच हुने आयोकले जनाएको छ । विजेताले नगद ११ लाख र ट्र्फी उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्