२०८३ श्रावण १२
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

जंगली हात्ती, सीमा–सम्बन्धी समस्या न्यूनीकरणको बाहुनडाँगी घोषणापत्र जारी

पूर्वी नेपालको बाहुनडाँगी तथा भारतसँग जोडिएका सीमा क्षेत्रमा देखापरेका जंगली हात्ती र अन्य सीमा–सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त रूपमा कार्य गर्ने प्रतिवद्धतासहित बाहुनडाँगी घोषणापत्र–२०८३ सार्वजनिक गरिएको छ । इन्डो–नेपाल मिडिया फोरमको आयोजना तथा झापा जिल्ला वन कार्यालय, मेचीनगर नगरपालिका र मेचीनगर–४ को समन्वयमा नेपाल र भारतका सञ्चारकर्मी, वन, वातावरण, जैविक विविधता तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न अध्ययन–भ्रमण, अन्तरक्रिया र छलफलबाट प्राप्त निष्कर्षका आधारमा घोषणापत्र जारी गरिएको इन्डो–नेपाल मिडिया फोरमका नेपाल संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो । यसक्रममा असार २७–२८ गते नेपाल र भारतका सञ्चारकर्मी, वन, वातावरण, जैविक विविधता तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा सो अध्ययन भ्रमण सम्पन्न भएको थियो । जारी आठ बुँदे घोषणापत्रको आधारमा यस क्षेत्रमा विद्यमान समस्या समाधान गर्न जनतामाझ चेतना प्रवाहसँगै आपसी सहकार्यको वातावरण निमौण गर्ने इन्डो–नेपाल मिडिया फोरमको उद्देश्य रहेको भारतका संयोजक प्रशान्त आचार्यले जनाउनुभयो ।

घोषणापत्र
१. नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि देखिँदै आएको मानव–हात्ती द्वन्द्व तथा अन्य सीमा–सम्बन्धी समस्याको दिगो समाधानका लागि दुवै देशका संघ, प्रदेश तथा स्थानीय सरकार, सम्बन्धित निकाय, समुदाय र सरोकारवालाबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई सुदृढ बनाउन हामी प्रतिबद्ध छौं ।
२. मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्तीको परम्परागत आवागमन मार्गको संरक्षण तथा व्यवस्थापन, वैज्ञानिक अध्ययन, आधुनिक सूचना प्रणालीको विकास, समयमै क्षतिपूर्ति वितरण, स्थानीय समुदायमा जनचेतना अभिवृद्धि तथा मानव–वन्यजन्तु सहअस्तित्वको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

३. सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधि, वन तथा सुरक्षा निकाय, स्थानीय समुदाय, सञ्चारकर्मी र विज्ञहरू सम्मिलित स्थायी संयन्त्र गठन गर्न पहल गर्ने तथा वन संरक्षण, जैविक विविधता, पर्यापर्यटन र हरित अर्थतन्त्रमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने नीति अवलम्बन गर्न आग्रह गर्दछौं ।
४. हात्तीको अनियन्त्रित प्रवेशबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि वैज्ञानिक अध्ययनका आधारमा उपयुक्त प्रविधि, स्मार्ट निगरानी प्रणाली, ड्रोन प्रविधि, प्रारम्भिक चेतावनी प्रणाली, आवश्यक स्थानमा विद्युतीय सुरक्षाबार लगायत प्रभावकारी उपायहरूको परीक्षण र प्रयोगका लागि आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछौं।

५. नेपाल–भारतबीच मानव–हात्ती द्वन्द्व व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा सीमा क्षेत्रमा देखिएका साझा समस्याको समाधानका लागि उच्च सरकारी तहमा नियमित द्विपक्षीय संवाद, कूटनीतिक पहल, सूचना आदान–प्रदान तथा संयुक्त कार्ययोजना निर्माण गर्न दुवै सरकारसँग अनुरोध गर्दछौं ।


६. सीमा क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक बजेट विनियोजन, वन तथा वन्यजन्तु व्यवस्थापनका संस्थागत संरचना सुदृढीकरण, आवश्यक स्थानमा वन कार्यालयको स्थापना वा विस्तार तथा वन, सुरक्षा निकाय र स्थानीय सरकारबीच प्रभावकारी समन्वय कायम गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछौं ।

७. इन्डो–नेपाल मिडिया फोरमलाई नेपाल–भारतबीच वातावरण, वन्यजन्तु संरक्षण, सीमा क्षेत्रका साझा समस्या तथा जनचासोका विषयमा संवाद, सहकार्य, जनचेतना अभिवृद्धि र कूटनीतिक पहललाई प्रवद्र्धन गर्ने साझा मञ्चका रूपमा थप सक्रिय बनाइनेछ। फोरमले समय–समयमा दुवै देशमा अध्ययन–भ्रमण, अन्तरक्रिया तथा नीतिगत संवाद सञ्चालन गरी समस्या पहिचान, तथ्य संकलन र समाधानका लागि पहल गर्नेछ ।

८. यस घोषणापत्र कार्यान्वयन तथा नेपाल–भारतबीच समन्वय विस्तारका लागि इन्डो–नेपाल मिडिया फोरमको एक संयुक्त समन्वय समिति गठन गरिएको छ। उक्त समितिको भारततर्फको संयोजक श्री प्रशान्त आचार्य तथा नेपालतर्फको संयोजक श्री तीर्थ सिग्देल रहनेछन् । समितिले आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय, संवाद र सहकार्य गर्दै घोषणापत्र कार्यान्वयनका लागि पहल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain