झापामा चिया उत्पादक संघले असार ४ गतेबाट बन्द गरेका कारखाना सञ्चालनमा ल्याएका छन् । चिया उत्पादक संघले विज्ञप्ति मार्फत झापाका ३४ वटा चिया कारखाना सञ्चालन गरेको जनाएको छ । भारतीय चिया बोर्डले हाले जारी गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP) का कारण नेपाली चिया भारत निर्यातमा अप्रत्याशित अवरोध सिर्जना भएको हो । निर्यात ठप्प भई झापा र इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेको, र समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने स्पष्ट सरकारबाट आश्वासन प्राप्त भएकोले कारखाना सञ्चालन भएको चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताएका छन् । सरकारको कदमप्रति उत्पादक संघ आश्वस्त हुँदै चिया बगानमा किसानहरूको हरियो चियापत्ति हुर्कंदै गएको संवेदनशील अवस्था, र चिया मजदुरहरूको दैनिक गुजारामा परेको प्रत्यक्ष असरलाई मध्यनजर राख्दै, उद्योगहरू सधैंका लागि बन्द गरिरहनु उपयुक्त नहुने ठहर सङ्घले गरेको छ । अतः सरकारको सकारात्मक पहललाई सम्मान गर्दै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको जानकारी विज्ञप्ति मार्फत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्